HIDE N SEEK

........................................................................with words, with issues!!!

Aug 3, 2025

एउटा अस्पतालको बकपत्र

 म अर्थात् एउटा सरकारी अस्पताल | राप्ती प्रादेशिक अस्पतालको नामले पुकार्छन् मलाई | लुम्बिनी प्रदेशको साँधसीमाभित्र पर्ने भएर मात्रै हो कि अरु केही अतिरिक्त कारण पनि छन्- म जान्दिन | जनजिब्रोमा भने ‘अंचल अस्पताल’ शब्द बढी झुण्डिएको पाउँछु |

दाङका स्थानीय मिडियामा म दैनिकजसो छाइरहेकै हुन्छु | (अ)सामाजिक सञ्जालका भाइरल पोस्ट र रिलहरुमा पनि म कतै न कतै ‘कन्टेन्ट’ बनिरहेकै हुन्छु | कति संचारकर्मी साथीहरु आउनुहुन्छ, सर्पदंशको बिरामीलाई इमर्जेन्सीमा उपचार गर्दैगर्दाको भिडियो खिच्नुहुन्छ, वाह भन्नुहुन्छ | म गद्गद् हुन्छु | अनि फेरि अर्को आउनुहुन्छ, ओपिडीमा डाक्टर नभएको मौका छोप्नुहुन्छ र आक्रोशित भावमा सोध्नुहुन्छ – यो कुन हदको लापरबाही ! म खिन्न हुन्छु | अपरेसन थियटरमा सफल अपरेसनपश्चात् खुसीखुसी अस्पतालबाट डिस्चार्ज भइगएका अनुग्रहित अनुहारहरु पनि पढेको छु र सँगै देखेको छु विशेषज्ञ अभावमा सामान्य प्रसुती सेवा पनि लिन नपाइ डेलिभरीका लागि मेरो प्राङ्गणबाट रेफर भएका अभागी आमाहरु पनि ! सकिनसकी पसिना काढ्दै बिल काउन्टरको लाइनमा उभिएका असी काटेका बा पनि देखेको छु अनि नियालेको छु नजिकबाट, नौ नम्बर कोठाबाट पन्ध्रमा अनि पन्ध्रबाट बीसमा अनि बीसबाट बाइसमा हतारिंदै दौडिइरहेका वृद्धा आमाहरु ! हनहनी ज्वरोले आलसतालस परेर वार्डको बेडमा छट्पटाइरहेको बच्चो अनि त्यो बच्चोलाई मायाले मुसार्दै औषधिमुलो गर्दैगरेकी नर्स बहिनीको सेवाभावको साक्षी पनि हुँ म | परिस्थितिको बन्दी बनेर आफ्नो एकबारको इहलीला समाप्त पार्न विषसेवन गरी इमर्जेन्सी आएको एक तरुणको दारुणिक अवस्था अनि त्यो तरुणलाई बचाउन हरसम्भव यत्न गरिरहेका मेडिकल अफिसर भाइको तत्परताले पनि मलाई भित्रैसम्म छोइरहन्छ | जेहोस्, आफ्नो बिमारीको इलाज हुने आशमा मकहाँ आउने धेरैजसोलाई मेरा स्वास्थ्यकर्मीले सन्तुष्ट नै पारी पठाएको मैले अनुभव गरेको छु | यत्रो कोलाहलमा कोहीकोहीलाई भने चित्त नबुझेको पनि हुन्छ, तर सीमित संख्याको त्यो असन्तुष्टि कहिलेकाहीं अतिरन्जित बनाइ मिडियामा ‘म्याग्निफाई’ हुन्छ भन्ने मेरो बुझाइ छ | जेहोस्, मानिस जातिको अनुहारका हर रङ्गहरु देख्न-बुझ्न पाएको छु मेरो हाताभित्र |

मलाई थाहा छ, म अस्पताल पनि धेरैथोक अवयवहरु मिलेर बनेको हुँ | सबैको सामूहिक प्रयासबाट मेरो मुटु धड्किने हो, अपितु मसँग हुनुपर्ने सबै अवयवहरु अहिले मसँग छैनन्; र भएका पनि चुस्तदुरुस्त छैनन् | हालै मेरो मेसुले राजीनामा दिनुभयो, अर्को प्रमुख आउनुभएको छैन नेतृत्व लिन | मेरो शिरोच्छेदन नै भएको भान परेको छ | कहिले एउटा विभाग बिरामी पर्छ, म थलिन्छु | कहिले अर्को विभाग थला पर्छ, म थेच्चारिन्छु | म ढल्न लागें भने सम्हाल्नलाई मेरो सामूहिक नेतृत्व छ, एकमनले यस्तो सोच्छु | साथ दिनलाई यति धेरै विभाग र शाखाहरु अनि त्यहाँभित्रका यति धेरै प्राविधिक/प्रशासनिक साथीहरु ! अर्को मनले भन्छ- खोइ त मलाई भरथेग गर्नेहरु, कसरी यस्तो लथालिङ्ग छोड्न सकेका ! समग्रमा मेरो ‘ग्रोथ’ सकारात्मक दिशामै भैरहेको छ; केही वर्षअघिको मेरो अवस्थासँग दाँज्दा म राम्रै ‘पोजिसन’मा उभिइरहेको छु | एक जमाना थियो, कसैलाई ‘एपेन्डीसाइटिस्’ हुँदा नेपालगंज वा बुटवल दौडिनुपर्थ्यो र कतिको हकमा त्यहाँ पुग्दासम्म एपेन्डिक्स फुटिसकेको हुन्थ्यो | आज पित्तथैलीको पत्थरी, हर्निया, स्तनको समस्यालगायत अधिकांश सर्जरीहरु मेरो अपरेशनकक्षमै हुन्छ, कतै भौतारिनु पर्दैन | तर, यक्षप्रश्न यो छ कि- के यतिले मात्रै पुग्छ ? सब ठीकठाक भन्दै हामीले यत्रो गर्यौं भनेर धक्कु लाएरै बस्ने कि समयको बेगसँग द्रुत गतिमा अगाडि बढ्ने?

मसँग समयमै गुणस्तरीय रिपोर्ट दिने अत्याधुनिक ल्याब सेवा छ | उस्तै चुस्त रेडियोलोजी विभाग छ | प्रशासन, स्टोर, लेखाले मलाई पूर्णता दिएका छन् | विशेषज्ञ डाक्टर, मेडिकल अफिसर, नर्सलगायत सम्पूर्ण स्वास्थ्यकर्मी साथीहरु मेरो मेरुदण्ड हुनुहुन्छ | उहाँहरुको योगदानको जति चर्चा गरेपनि कमै हुन्छ | तर जम्मैजसो क्लिनिकल विभागहरु संचालनमा भएपनि यहाँ यथेष्ट जनशक्ति नै छैन | प्रसूति तथा स्त्रीरोग विभागजस्तो संवेदनशील विभाग सिर्फ एकजना डाक्टरको भरमा चलेको धेरै भइसक्यो | एकजना त कहिले बिरामी पर्छ, कहिले आकस्मिक बिदा लिनुपर्ने हुन्छ; आखिर मानिस न हो, उसलाई पनि आरामको जरुरत हुन्छ | अनि एकजना डाक्टरको भरमा ‘डेलिभरी’ र ‘सिजरियन’ जस्तो अत्यावश्यक र आधारभूत सेवा कसरी बेरोकटोक चलाइराख्न सम्भव छ- माथिका नीतिनिर्माताहरुले ध्यान दिने कि ! कम्तीमा पनि दुईजना अरु गाइनेकोलोजिस्ट मकहाँ पठाउन सके म अलिकति बौरिन सक्थें | दंगाली दिदीबहिनीहरुले सुत्केरी हुन नेपालगञ्ज र घोराहीको बाटो हेर्नुपर्दैनथ्यो | अर्को अत्यावश्यक र बिरामीको बहुतै भीड लाग्ने विभाग हो- मेडिसिन | त्यहाँ बस्ने फिजिसियन डाक्टरका आफ्नै दुख छन् | डेढ सय बिरामीको लामो न लामो लाइन र ओपिडीमा तिनलाई हेर्ने दुइजना फिजिसियनबीच संख्यामा कतै पनि तादात्म्यता छैन | आठदेखि दस मिनेट समय दिएर समग्रमा जाँच्नुपर्ने एउटा बिरामीलाई एक-दुई मिनेटमा यसरी सर्सर्ती मात्रै जाँच्दा कस्तो गुणस्तर कायम होला- यसमा पनि माथिका नीतिनिर्माताहरु अब त घोत्लिने कि ! कम्तिमा पाँचजना फिजिसियन ओपिडीमा र दुइजना वार्डहरुमा हुँदा बिरामीलाई पूर्ण सन्तुष्टिका साथ गुणस्तरीय सेवा प्रवाह हुँदो हो- मेरो आँकलनले त्यसै भन्छ | त्यसैले जनशक्तिको अभावलाई जसरी हुन्छ, तत्काल परिपूर्ति गरौँ, मेरो बिन्ति छ | मलाई बिरामीहरुले मन्दिर पनि भन्छन्, यो मन्दिरको यत्ति पुकार तपाईंहरुले पक्कै सुन्नुहुनेछ |

हुन त भएकै जनशक्तिबाट पनि अधिकतम् काम लिन त कहाँ नै सकिएको छ र ? इमान्दारीपूर्वक आफ्नो काममा दत्तचित्त भइ खट्ने साथीहरु हुनुहुन्छ, उहाँहरुलाई केही न केही प्रोत्साहनको व्यवस्था होस् | कामचोर प्रवृत्तिका पनि एकाध हुनुहुन्छ भन्ने गाइगुई नसुनिएको होइन, त्यस्तालाई सचेत पार्ने काम होस् | मेरा कर्मचारीहरु स्वअनुशासित भइदिउन् र आ-आफ्नो ठाउँबाट इमानदार प्रयत्न गरुन् भन्ने मेरो पवित्र इच्छा पालना हुन्थ्यो भने नियम-कानूनको डण्डा नै किन बन्थ्यो होला र !

यसैपनि मेरा इच्छा धेरै छैनन् | प्रादेशिक अस्पतालमा डाक्टर नै भेटिन्नन् भन्ने हौवा छ, पर्याप्त जनशक्ति भित्र्याएर यसलाई हौवामै सीमित पारौं ! बिलकाउन्टरको संख्यालाई बढाएर भीड व्यवस्थापन गर्दै समयभित्रै बिरामीलाई सहज र सुलभ सेवा दिन सकौं | मेरा समस्त सेवाप्रदायक स्वास्थ्यकर्मी साथीहरुलाई कामको लागि ‘मोटिभेट’ गरिराख्न सकौं | मेरो आर्थिक सुशासन कायम राखिराख्न सकौं | कागजमा मात्रै होइन, व्यवहारमै दुईसय बेडमा स्तरोन्नति गर्न सकौं ताकि विशिष्टीकृत सेवाहरु पनि मेरै आँगनबाट प्रवाह होस् | अनि नजिकै घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नामको हुर्कंदै गरेको प्राज्ञिक संस्था छ | योसँग सहकार्य गर्दै ‘पढ्ने-पढाउने-सिक्ने’ र प्राज्ञिक विमर्शको थलो बनाउन सकौं जसले हाम्रो सेवालाई थप विश्वासिलो र गुणस्तरीय बनाउनेछ | स्वास्थ्योपचार तपाईंहरुको नैसर्गिक अधिकार त हुँदै हो, तर त्यो अधिकार सुनिश्चित गरिदिने म अर्थात् यो अस्पताललाई उकास्ने जिम्मेवारी पनि तपाईंहरु सबैको हो |

First published in Swasthyakhabar

 

Read More

Sep 18, 2017

तीर्थ खनियाँका दुई विकल्प: राजीनामा कि बर्खास्तगी

First published in SwasthyaKhabar
गत वर्ष कात्तिक २८ देखि सुरु भएको डा. गोविन्द केसीको १०औं अनशनका बेला उनको पहिलो माग थियो, वरिष्ठता मिचेर आइओएम डीन बनाइएका डा केपी सिंहको राजीनामा र वरिष्ठताका आधारमा नयाँ डीनको तत्काल नियुक्ति तथा नियुक्तिमा चलखेल गर्ने त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको बर्खास्तगी।
हुन पनि केसीको सत्याग्रहकै बलमा आइओएममा राजनीतिक भागवण्डाबाट नभई वरिष्ठताका आधारमा डीन नियुक्ति हुने थिति बसेको थियो। डा सिंहको नियुक्तिसँगै भत्केको यही थितिलाई ट्रयाकमा ल्याउन अनशन बसेका थिए डा केसी। फलस्वरूप नियुक्ति पाएको २२औँ दिनमै राजीनामा गर्न वाध्य भए उनी र वरिष्ठताका आधारमा डा जेपी अग्रवाल नयाँ डीनका रुपमा आइओएम प्रवेश गरे।
तर पहिलो मागकै अर्को बुँदा अर्थात् त्रिवि उपकुलपति खनियाँको बर्खास्तगीले भने साकार रुप लिन पाएन। त्रिविले पूर्वाधार नै नपुगेको काठमाडौं नेसनल मेडिकल कलेजलाई गैरकानुनी रुपमा सम्बन्धन दिएपछि डा केसीले सम्बन्धन खारेजी र त्रिवि पदाधिकारीको राजीनामा नआए पुनः १३औं अनशन बस्ने घोषणा गरिसक्नु भएको छ।
डा केसीको १०औं अनशन तोड्ने क्रममा भएको सहमतिमा प्रष्ट लेखिएको छ: त्रिविका पदाधिकारीबाट हालसम्म भएका कामकारबाही र विवादित गतिविधिका विषयमा जाँचबुझ गरी आवश्यक कारबाहीका लागि नेपाल सरकारलाई तीन महिनाभित्र प्रतिवेदन दिन उच्चस्तरीय न्यायिक समिति १५ दिनभित्र गठन गर्ने। खनियाँको बर्खास्तगीका सम्बन्धमा यही मध्यमार्गी बाटोबाट सहमति जुटाइएको थियो तर जसै अनशन तोडियो र सहमतिको मसी सुक्यो, सरकार पुरानै रबैयामा फर्क्यो। आज ९ महिना कटिसक्यो तर खनियाँ लगायतका त्रिवि पदाधिकारीमाथि कारबाही त परै जाओस्, सामान्य छानबिनसम्म हुन सकेको छैन।
पाँचौं अनशनदेखि नै लगातार रुपमा डा केसीले सम्बन्धन लगायतका कुरामा अनियमिततामा मुछिएका त्रिवि पदाधिकारीमाथि छानबिन र कारबाहीको माग उठाइरहनुभएको हो। अन्य कुरामा भएका सहमति त बरु आंशिक रुपमा भए पनि लागू हुँदै आएका छन् तर त्रिवि पदाधिकारीमाथि छानबिनको कुरामा भने निरन्तर जालझेल मात्रै भएको छ। 'कालेकाले मिलेर खाऊँ भाले' जस्तो दलीय सिन्डिकेटले कब्जा जमाएको त्रिविका सवालमा के सत्तापक्ष, के प्रतिपक्ष सबै तैं चुप मैं चुपको स्थितिमा छन्।
त्रिवि उपकूलपति तीर्थ खनियाँ

सत्याग्रहकै शक्तिले डा शशी शर्मा डीनबाट बर्खास्त हुने, अर्का डीन डा सिंहले राजीनामा दिने तर अनियमितता र भ्रष्टाचारका अनेक तथ्यहरु सार्वजनिक हुँदा पनि त्रिवि पदाधिकारीमाथि भने छानबिनसम्म नहुने ? २०४७ को संविधानले जसरी राजपरिवारलाई संविधानभन्दा माथि राखेको थियो, त्यसरी नै अहिले खनियाँ लगायतका पदाधिकारीलाई पनि कानुनले नै छुन नमिल्ने हो कि झैं प्रतीत हुन्छ।
उपकूलपति खनियाँका कर्तुतबारे मिडियामा धेरै कुरा सप्रमाण बाहिर आइसकेका छन्। एक त उनी ‘प्लेजरिस्ट’ अर्थात् वौद्धिक चोरका रुपमा चर्चित भइसकेका छन्। टर्कीका प्राध्यापक फेरित किलिकायाले सन् २००४ मा छपाएको एक पेपरबाट आधाभन्दा बढीजसो हुबहु सारेर उही निष्कर्षका साथ सन् २००६ मा आफ्नो नाममा पेपर छपाएका रहेछन् खनियाँले। तर विडम्वना, योग्यता र कार्यदक्षता होइन, दलीय बफादारिता हेरेर महत्वपूर्ण ठाउँमा नियुक्तिहरु हुने देशमा यी ‘प्लेजरिस्ट’ पनि समयक्रममा देशकै सबैभन्दा ठूलो विश्वविद्यालयको उपकुलपति बनाइए।
अलिकति पनि नैतिकता र लाज बाँकी हुँदो हो र आफू प्राज्ञिक व्यक्ति भएको बोध हुँदो हो त ‘प्लेजरिजम’ जस्तो प्राज्ञिक अपराध गरेका कारण आफू उपकुलपतिजस्तो पदमा बस्न लायक नभएको भनेर पद अस्वीकार गर्थे होलान्। यसले उनको आफ्नै गुमेको इज्जत फिर्ता हुन्थ्यो, पदका लागि मरिमेट्ने समाजमा एउटा बेग्लै सन्देश जान्थ्यो र त्यो प्राज्ञिक अपराधको प्रायःश्चित पनि हुन्थ्यो। तर, उनले त्यसो गरेनन् बरु सगर्व पदमा आसीन भए र चोरी गरेको स्वीकार्न पनि तयार भएनन्। ‘एकम् लज्जा परित्यज्य सर्वत्र विजयी भवेत्’ भनेजस्तै दलको आडभरोसा पाएका उनले त्यही एउटा लाज त्यागेका छन् र जताततै विजयी हुँदै गइरहेको भ्रममा बाँचिरहेका छन्।
‘प्लेजरिजम’ को यो प्राज्ञिक अपराध त छँदैछ। डा केसीले यिनको बर्खास्तगी माग्नुका पछाडि भने मूलतः चिकित्सा शिक्षासँग जोडिएका यिनका कर्तुतहरु जिम्मेवार छन्। माथि उल्लेख गरेजस्तै वरिष्ठताका आधारमा डीन बनाउने थिति बसिसकेको आइओएममा नौ-नौ महिना डीनको पद खाली राख्ने र त्यसपछि वरिष्ठताको रोलक्रम मिचेर नियुक्ति दिने काम यिनैले गरे।
मेडिकल कलेजहरुलाई सरकारले तोकेकोभन्दा बढी सीट दिने अनि नयाँ मेडिकल कलेजहरुलाई सम्बन्धन दिलाउन चलखेल गर्ने काममा पनि यिनले सक्रियता देखाए। पछिल्लो समय काठमाडौं नेसनल मेडिकल कलेज नाम गरेको एउटा सुनसान भवनलाई सम्बन्धन दिलाएर चिकित्सा शिक्षामाथि नै एउटा भद्दा मजाक गरेका छन्।
डा केसीको ११औं अनशनकै बेला यो सम्बन्धन दिएर उनले सम्भवत: सन्देश दिन खोजेका हुन सक्छन्- तिमीहरु जति सत्याग्रहको ध्वाँस दिँदै जान्छौ, जाऊ तर हात्ती लम्किरहन्छ! डा केसीजस्ता सत्याग्रहीको अपमान गर्दै देशको समग्र चिकित्साशिक्षा र स्वास्थ्य सेवालाई बर्बाद पार्न तम्सेका यी 'वौद्धिक चोर'लाई सबक सिकाउन अब ढिला भइसकेको छ।
देशको चौथो अंगले यिनका कर्तुतहरु भण्डाफोर गर्ने अभियान जोडतोडका साथ चलाइरहँदा पाँचौं स्तम्भ मानिने नागरिक समाज अब जुर्मुराउनैपर्छ। कुनबेला डा केसी अनशन बस्लान् अनि लेखौंला, बोलौंला र सडकमा आउँला भनी केसीको मुख ताकेर बस्ने बेला होइन यो। बरु यो सत्याग्रहको टुकीमा सबै मिली तेल थप्ने बेला हो।
दलको टीका लाएर प्राज्ञिक पदहरुमा बस्ने अनि त्यही पदको गरिमा धूलिसात् हुनेगरी संस्थालाई धरासायी बनाउने खेल अब धेरै टिक्दैन भनेर नागरिकहरु नै एकजुट नहुँदासम्म राजनीतिक नेतृत्व पनि जाग्नेवाला छैन। काठमाडौं नेसनल सम्बन्धन प्रकरणको यति धेरै दिन बितिसक्दा पनि कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री लगायत प्रमुख राजनीतिक दलहरु मौन बस्नुको अर्थ यही हो।
सिर्फ एकजना डाक्टरले चलाइरहेको एउटा सुनसान अस्पताललाई डाक्टर उत्पादन गर्ने फ्याक्ट्रीको स्वीकृति दिएर उनले भावी दिनको संकेत दिइसके। अब संकेत दिने पालो हाम्रो हो। ज्ञानेन्द्र शाहीको अन्त्य हुनसक्छ, लोकमानसिंह कार्कीको समानान्तर सत्ता ढल्न सक्छ भने तीर्थ खनियाँको रजगज मात्रै कति दिन कायमै रहन्छ र? अब राजीनामा दिएर ‘सम्मानजनक बहिर्गमन’ को बाटो रोज्ने कि बर्खास्तगीको, निर्णय लिन उनको भागमा धेरै समय बाँकी छैन।
Read More

Jul 28, 2017

सहकर्मीको आँखामा अछाम अस्पतालको मुहार फेर्ने डा. बराल

First published in SwasthyaKhabar
करीब अढाई वर्ष अछामवासीको सेवा गरेर हिजोमात्रै (साउन ८ गते) डा. शरदचन्द्र बराल अछाम जिल्लाबाट बिदा हुनुभयो | वीर अस्पतालमा इन्टरनल मेडिसिन विषयमा एमडी गर्न तीन वर्षका लागि उहाँ अध्ययन बिदामा जानुभएको हो | यो लेखिरहँदा म बिदाइ समारोहको त्यो भावुक क्षण सम्झिरहेको छु जहाँ अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयका सबै कर्मचारीहरुका आँखाका चेपहरु रसाइरहेका थिए | वास्तवमा हरेक कर्मचारीको बिदाइ हुँदा सम्बन्धित कार्यालय दुख अनि विछोडको पीडामा डुब्छ, त्यो स्वाभाविक पनि हो ! किनकि त्यो कार्यालय अनि कार्यालयका हरेक कर्मचारीसँग बिदाइ भइ जाने कर्मचारीको भावना जोडिएको हुन्छ, स्मृति गाँसिएको हुन्छ अनि बनेको हुन्छ एकप्रकारको अटुट सम्बन्ध ! तर डा. बरालको बिदाइमा हामी सबैले अतिरिक्त दुखको महसुस गर्यौं | त्यो सायद उहाँले वर्षौंवर्षका लागि सम्झनलायक कामहरु गरेर गएकाले, यहाँको माटोमा आफ्नो विशिष्ट पदचाप छाडेर गएकाले अनि समग्र जिल्लालाई स्वास्थ्यको क्षेत्रमा राष्ट्रिय मानचित्रमा अगाडि ल्याइदिनुभएकोले नै हो कि?
डा. बराल अर्थात् जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुखको बारेमा धेरैथोक यसअघि नै लेखिइसकेको छ | कसरी उहाँको नेतृत्वक्षमताको बलमा छोटो समयमै अछामले छलाङ हान्न सक्यो अनि जिल्ला अस्पताल मात्र होइन, जिल्ला स्वास्थ्य कार्यालय पनि देशभरमै उत्कृष्ट सावित भयो भन्ने कथा साँच्चै नै प्रेरणादायी छ |
व्यक्तिगत रुपमा मैले पनि करिब दुईवर्ष अछाम जिल्ला अस्पतालमा उहाँसँगै रहेर काम गर्ने मौका पाएँ | म गौरवान्वित छु कि यो अवधिमा उहाँबाट थुप्रै कुराहरु सिक्न सकें | क्लिनिकल कुराहरु त भइहाले, संगसंगै दुर्गमको स्वास्थ्यप्रणालीका व्यवस्थापकीय पाटोसम्बन्धि अमूल्य पाठहरु सिकाएर जानुभएको छ | उहाँको सबैभन्दा महत्वपूर्ण सन्देश थियो- ‘भद्रगोल सिस्टममा कम्प्लेन गरिरहन र समस्या देखाइरहन सजिलो छ, त्यो जसले पनि गर्न सक्छ ! त्यसैले हाम्रो काम यो भएन र त्यो भएन भन्ने होइन, आफ्नो बलबुताले भ्याएसम्म सकारात्मक सोचाइ राखेर समाधान खोज्ने हो !’ र हो पनि, यो सोचाइ उहाँको व्यवहारमा ठ्याक्कै प्रतिविम्बित हुन्थ्यो | उहाँले काम गर्ने दौरान कति बाधा-व्यवधानहरु आए, तर कहिल्यै पनि उहाँले हार मान्नुभएन | ह्या, यो सिस्टममा रहेर काम गर्ने वातवरण नै छैन भनेर बहानाबाजी गर्नुभएन बरु नयाँ नयाँ रचनात्मक आइडियाहरु फुराउँदै जानुभयो | हामीलाई सधैं भन्नुहुन्थ्यो- हामी पनि भागेर गयौं भने यो देशमा गर्ने कसले ? त्योबेला मलाई सधैं लाग्थ्यो- देशको भविष्य हामीजस्तै युवापुस्ताको हातमा छ; गर्ने हामीले नै हो ! गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण डा. बराल हाम्रैअगाडि हुनुहुन्थ्यो |
सामान्यत: सरकारी अस्पताल भन्नेबित्तिकै हाम्रो मानसमा एक किसिमको नकारात्मक छाप परेको हुन्छ | फोहोर, दुर्गन्ध, घन्टौको लाइन, डाक्टर नभेटिनु, औषधि नपाइनु- झट्ट सम्झिंदा आम मानिसको मनमा आउने चित्र यस्तै हो | तर डा. बरालले अछाम जिल्ला अस्पतालको नेतृत्व सम्हालेयता आम मानिसले सोच्ने यो चित्रमा भारी बदलाव आयो | स्थानीयहरुले सरकारी निकायमा पनि काम हुँदोरहेछ, गुणस्तरीय सेवा प्रवाह हुँदोरहेछ भनी विश्वास गर्न थाले | म स्वयंलाई यहाँ आउनुअघि लागेको थियो- ‘दुर्गमको सरकारी अस्पताल भनेपछि के नै गतिलो होला र ? दिउँसो बिरामी हेर्ने अनि बिहानसाँझ पीपी (प्राइभेट प्राक्टिस) गर्ने, यसरी नै १ वर्ष काट्ने अनि घरपायक मिलाएर सरुवा गर्ने !’ तर यहाँ आएको १ महिनामै डा. बरालको सोच र कामगराइ देखेर मैले आफ्नो सोच र योजना बदलें | सरकारी स्वास्थ्य संस्थालाई जनताले विश्वास गर्नलायकको भरोसायोग्य ठाउँ बनाउनुपर्छ भन्ने डा. बरालको सोचले मलाई प्रभावित गर्यो र मैले पनि उहाँकै पाइला पछ्याउंदै आफ्नो पूरै समय जिल्ला अस्पताललाई नै समर्पित गरें |
पक्कै पनि अछामले पाएको सफलताको हकदार जिल्ला स्वास्थ्य कार्यालयको पूरै टीम हो | एकजना व्यक्तिको एकल प्रयासले मात्र त यो सम्भव हुने कुरा होइन | तर नेतृत्वमा को छ भन्ने कुराले धेरै कुरा फरक पार्ने रहेछ | काम गरेर देखाउने स्पिरिट भएको जुझारु टीम हुँदाहुँदै पनि नेतृत्वमा रहेको ‘म्यानेजर’ गतिलो भएन भने त्यो जुझारु टीमको परिचालन राम्रोसँग हुनसक्दैन, समन्यव सही ढंगले हुनसक्दैन अनि फलस्वरूप परिणाम राम्रो हात लाग्दैन |
इमान्दारिता, नेतृत्वक्षमता र काम गर्ने भिजन- यी तीन कुराको त्रिवेणी हुनुहुन्थ्यो उहाँ | बिहान सबेरै कोठाबाट निस्केपछि दिनभरि अस्पतालकै काममा खटिने र एकैचोटि राति अबेर मात्रै कोठा फर्कने उहाँको यो खट्न सक्ने क्षमता देखेर म धेरैचोटि छक खाएको छु | आर्थिक मामिलामा पनि उहाँ यति पारदर्शी र ‘क्लिन’ निस्किनुभयो कि कसैले पनि उहाँलाई योबीचमा यो विषयमा औंलो ठड्याउन सकेन | समन्वयात्मक ढंगले काम गर्ने शैली र सामूहिक लक्ष्यप्राप्तिको भावनाका कारण नै उहाँ अस्पताल व्यवस्थापनको कुनै औपचारिक शिक्षाबिना पनि यस क्षेत्रमा अब्बल सावित हुनुभयो |

तर हामीकहाँ कुनै एक विन्दुमा एकजना गतिलो म्यानेजर आइपुग्दा संस्थाले फड्को मार्ने अनि केही समयपछि ऊ अन्तै जाँदा संस्था पुरानै हालतमा फर्केका उदाहरणहरु पनि छन् | एउटा कुशल म्यानेजरको विशेषता भने के पनि हो भने उसले आफ्नो कार्यकालमा एउटा यस्तो प्रणालीको विकास गर्नुपर्छ जसअनुसार उसको पदमा व्यक्ति जोसुकै आओस् त्यसले संस्थाको कामगराइमा कुनै फरक नपारोस् ! ऊ हुँदा राम्रो हुने र उसले छोडेर जानेबित्तिकै संस्था चौपट हुनथाल्यो भने ऊ कुशल म्यानेजरमा गनिदैन | यसप्रकार डा. बरालले यो अढाई वर्षमा त्यस्तो प्रणालीको विकास गर्नसक्नुभयो या भएन, त्यो आगामी दिनमा अछामको ‘पर्फर्मेन्स’ ले बताउने नै छ | अहिलेलाई भने हामीले उहाँलाई यति आश्वास्त पार्न चाहन्छौं कि तपाईंले छोडेर जानुभएको विरासतलाई हामीले पक्कैपनि अझ उन्नत ढंगले अघि बढाउने नै छौं ! र आशा छ- एमडीको अध्ययनपछि पनि विशेषज्ञ सेवा दिन यस्तै दूरदराजका ठाउँ आउनुहुनेछ, विकटका बिरामीको सेवामा समर्पित हुनुहुनेछ र मजस्तै युवापुस्ताका भाइहरुलाई प्रेरणा र हौसला दिँदै थप डा. बरालहरु जन्माइरहनुहुनेछ !
Read More

Jul 22, 2017

कहिलेसम्म लुटिने नेपाली बिरामीहरु भारतमा?


First Published in SwasthyaKhabar
प्रसंग गत अषाढ महिनाको हो ! पेट दुख्ने समस्या लिएर एक अधबैंसे महिला मेरो ओपिडीमा आइन् | हातमा एक झोला कागजात पनि साथै बोकेकी थिइन् | ‘हिस्ट्री’ लिँदै जाँदा थाहा भयो- केही महिनाअघि मात्रै ‘बम्बै’ मा उनको पाठेघर निकाल्ने अपरेसन भएको रहेछ र यी कागजातहरु त्यही अपरेसनसँग सम्बन्धित थिए | यहाँका हरेक बिरामीलाई लाग्छ- मेरो त १० वर्षअघि फलानो अपरेसन भएको थियो, कतै त्यही अपरेसन बिग्रेर त आज मलाई यस्तो भएको होइन? स्वाभाविक हो, यी अधबैंसे महिलालाई पनि लागेछ- कतै मेरो अपरेसन बिग्रेर पो......
अनि म लागें ‘हिस्ट्री’भित्र पनि त्यो अपरेसनको ‘हिस्ट्री’ लिन ! उनको योनीबाट बाक्लो सेतो पानी बग्ने, तल्लो पेटको दायाँबायाँ दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने भएको एक-दुई महिनाजसो भएको रहेछ | गाउँको स्वास्थ्य केन्द्र गएर औषधि सेवन पनि गरिछन् | केही समय त ठीक भएछ तर फेरि बल्झेपछि बम्बै बस्ने श्रीमानले उतै बोलाए अरे | एक पन्थ दुई काज भनेझैं श्रीमानसँग भेटघाट पनि हुने र उपचार पनि हुने सोचेर उनी बम्बै लागिन् | बम्बैको एक अस्पतालमा देखाइन् जहाँ उनलाई पाठेघरमा ठूलो घाउ भएको र तुरुन्त अपरेसन गरी पाठेघर निकाल्नुपर्ने नत्र ज्यानै जानसक्ने त्रास देखाइयो | अन्ततः अपरेसनका लागि उनीहरु राजी भए र उनको पाठेघर निकालियो |
अनि मैले उनको त्यो रिपोर्टवाला झोला खोतल्न थालेँ | ‘ठूलो घाउ’ भनेको के रहेछ भनेर अल्ट्रासाउण्ड रिपोर्ट पनि हेरें | तर त्योलगायत सबै रिपोर्टहरु नर्मल लिमिटभित्रै थिए | Diagnosis मा PID (Pelvic Inflammatory Disease) लेखिएको थियो | लक्षण तथा जाँचका आधारमा उनको रोग PID नै थियो सम्भवतः ! तर प्रश्न यो छ कि, त्यत्तिकै आधारमा पाठेघर नै निकाल्नुपर्ने आवश्यकता थियो त ?
PID अर्थात् स्त्री प्रजनन प्रणाली (Female reproductive tract) को माथिल्लो भागको संक्रमण ! अझैं बुझिनेगरी भन्दा Neisseria gonorrhea र Chlamydia trachomatis जस्ता ब्याक्टेरियाको संक्रमणबाट पाठेघर, डिम्बबाहिनी नली र अण्डासयजस्ता अंग प्रभावित हुने रोग ! यति लेखिसकेपछि यो पनि थपिहालौं, यस्तो संक्रमणको उपचार एन्टिबायोटिकद्वारा गरिन्छ, नकि त्रास देखाएर तत्काल अपरेसनद्वारा |
यहाँनेर पाठेघर निकालिएकोप्रति मैले किन अतिरिक्त शंका गरेको भने यस्ता केसहरु मैले अछामको दुई वर्षे बसाइँमा धेरै देखिसकेको छु | कसैका मृगौला झिकिएका हुन्छन्, कसैका पाठेघर अनि कसैका पित्तथैली | Indications भएर अपरेसन गरिँदो हो त यहाँ प्रश्नै उठ्ने थिएन | त्यो बिरामी बचाउने महान् काम ठहरिन्थ्यो र त्यसको सराहना गरिन्थ्यो | तर एकथोक समस्या लिएर आएको बिरामीलाई बिनाकारण नै तिम्रो फलानो अंग बिग्रेको छ, निकाल्नुपर्छ भनेर त्रास देखाउने अनि मोटो रकम असुलेर अपरेसन गरिदिने....बम्बैमा धेरै सोझासिधा सुदूरपश्चिमेलीको नियति नै यही बनेको छ | मृगौला तस्करीहरुको समाचार सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेलगायतका जिल्लाहरुमा सीमित भइरहेको बेला कतै बम्बैका ती अस्पतालमा पनि यस्ता गिरोहको जालो त छैन, शंका गर्नुपर्ने भएको छ |
हालै एकजना दिदीसँग यसै विषयमा कुरा चल्दा आफ्नो दुखद अनुभव सुनाउँदै हुनुहुन्थ्यो | भन्नुहुन्थ्यो- ‘मेरो एकजना अंकललाई मृगौलामा ट्युमर छ भनी मृगौला निकालियो भारतको एक अस्पतालमा | तर अपरेसनपश्चात उहाँ बाँच्नुभएन |’ हुनत हरेक सर्जरीका केही न केही जटिलताहरु पक्कै हुन्छन्; जतिसुकै नाम कमाएको सर्जनले अपरेट गर्दा पनि कहिलेकाहीँ मृत्यु नै हुनसक्ने सम्मको जोखिम त रहन्छ नै | तर जब यस्ता घटनाहरु निश्चित ठाउँमा नियमित दोहोरिरहन्छन्, तब सोच्नुपर्छ- दालमे कुछ काला है !
म कार्यरत जिल्ला अस्पताल अछामबाट कुनै केस रिफर गर्नुपर्यो भने कि धनगढी, नभए नेपालगंज पठाउँछु | तपाईंको रोगको नेपालगंजमा राम्रोसँग उपचार हुन्छ भनेर आश्वास्त पार्न खोज्छु | तर धेरैले मरेकाटे मान्दैनन् | मान्दैनन्, किनभने बम्बैभन्दा धनगढी र नेपालगंज उनीहरुका लागि बिरानो छ | उनीहरुका इष्टमित्रजति सबै बम्बै छन्, त्यसकारण बस्न, खान, बिरामी कुर्नदेखि लिएर यावत कुराहरुमा उनीहरुलाई त्यता सजिलो पर्छ | अप्ठ्यारो त तब शुरु हुन्छ जब त्यही सजिलो बम्बैमा ढुकेर बसेको एउटा गिरोहले बनाउन थाल्छ उनीहरुलाई मुर्गा | भएभरका चाँहिदा-नचाँहिदा जाँचहरु गराउने र कुनै एउटा मेजर/माइनर शल्यक्रिया पनि सँगै गरेर लाखौँ असुल्ने अनि बिरामीलाई ल अब तिम्रो रोग चट् भयो भनी घर पठाउने गजबको धन्दा फस्टाएको छ त्यहाँ | त्यो गिरोहको धन्दा फस्टाउँदै गर्दा यता भने कति गरिब नेपालीहरुको घरखेत सखाप भएको छ र कतिको ज्यानै गएको छ, कसैसँग हिसाबकिताब छैन |
            समाधान के त ?
प्युठान जिल्ला अस्पतालमा कार्यरत डा. समीर लामालाई हामी धेरैले चिन्छौं | उहाँले कुनै त्यस्तो गम्भीर प्रकृतिको बिरामी काठमाडौं रेफर गर्नुपर्यो भने सामाजिक संजालका माध्यमबाट स्वयंसेवा (volunteering) का लागि आह्वान गर्नुहुन्छ |  काठमाडौंको बसपार्कदेखि सो बिरामीलाई लिने, अस्पतालसम्म पुर्याउने र अस्पतालमा सम्बन्धित डाक्टरको जिम्मा लाउनेसम्मको काम त्यो स्वयंसेवकले गर्छ | डा. लामाले नै त्यो  अस्पतालका चिनजानका डाक्टरसँग पहिल्यै सम्पर्क गरी फलानो बिरामी पठाउँदैछु भनी उसको रोगको विस्तृत विवरण पनि भनिसक्नुभएको हुन्छ | खर्चका मामलामा उहाँले आफ्नै पहलमा ‘विपन्न बिरामी सहयोग कोष’ खडा गर्नुभएको छ जुन प्रयोग गर्नुहुन्छ यस्ता बिरामीहरुको हकमा | यति गरिसक्दा भने डा. लामाको बिरामीले ढुक्कका साथ ‘म बम्बै होइन, काठमाडौं जान्छु डाक्टरसाब्’ भनेर भन्नसक्छ होला | यस्तो पवित्र कार्यका लागि डा. समीर धन्यवादका पात्र हुनुहुन्छ | उहाँले थुप्रै बिरामीहरुको आशीर्वाद पाइरहनुभएको छ | तर व्यक्तिगत प्रयासका सीमितताहरु छन् | यही कुरा संस्थागत प्रयासमा ढाल्न सकियो र थिति बसालेर अघि बढियो भने झन् कति राम्रो परिणाम आउँथ्यो होला? जोकोही बिरामी ठूला अस्पतालमा रेफर हुँदा ‘म त त्यहाँ कसरी पुग्न सकुँला र, त्यहाँ मेरो पहुँच नै छैन, कुर्ने मान्छे छैनन्, त्यहाँसम्म जान लाग्ने गाडीभाडा छैन’ जस्ता प्रश्नहरु उठ्छन्; यी प्रश्नहरुको राज्यले हल खोज्नैपर्छ | बम्बैतिरको यात्रामा ब्रेक लगाउने र बिरामी ठगिने प्रक्रिया रोक्नका लागि यति नगरी धरै छैन | हुनत केही जिल्लाहरुबाट शुरु भएको स्वास्थ्य बीमा कार्यक्रमले यो मुद्दालाई सम्बोधन गरेको पनि छ केही हदसम्म |

सँगसँगै सीमाक्षेत्रमा ‘उपचारका लागि जाँदै हुनुहुन्छ? सावधान, कतै मृगौला तस्करहरुको फन्दामा पर्नुहोला’ भन्नेजस्ता सन्देश लेखिएका होर्डिंगबोर्डहरु पो लगाउने हो कि? कंचनपुर र कैलालीका जिल्ला जनस्वास्थ्य कार्यालयहरुले यो काममा तदारुकता देखाइहाल्नुपर्ने आवश्यकता देखिन्छ | स्थानीय एफएमबाट पनि अब नेपालमै हरेकजसो रोगहरुको गुणस्तरीय उपचार सम्भव छ भन्ने किसिमका सन्देश प्रशारणमा जोड दिँदा बेस | आखिर सोझासिधा नेपाली बिरामीहरुलाई कतिञ्जेल ठगहरुको हातमा सुम्पिरहने ?
Read More

Aug 3, 2016

Operation Quack

(First published in The Kathmandu Post )
The identification and arrest of 36 doctors possessing forged academic certificates, mostly of school and intermediate level, and using them to pursue their medical degree have come as a shock to many. Everyone was dismayed by the fact that people with fraudulent certificates thrive in the medical sector that has profound effects on the life and death of a person. As a result, nakkali daktar became a household phrase overnight.
This is indeed a reminder of the dishonest practices prevailing in our society. Not long ago, a professor accused of plagiarism was appointed as the vice chancellor of Tribhuvan University. And despite protests, he continues to occupy the coveted position. Doctors too are products of the same society, and one cannot expect them to be very different from the rest.
Felony or misdemeanour
The majority of the arrested doctors are found to have fake school leaving exam certificates or higher secondary level certificates. However, the surprising thing is that they have been successful in completing their MBBS or MD courses from recognised universities. On the one hand, it raises some serious questions about how they were able to get through the tough courses; on the other hand, it gives us reason to assume that they have the requisite clinical knowledge and surgical techniques to practice medicine. In fact, some of them have been practicing medicine for years and have established themselves as professionals in reputed hospitals. Contrary to the general belief, they are not even ‘quacks’ in the literal sense. But we must admit that no matter how good a clinician they may be, the moral bankruptcy demonstrated by those fake credentials makes them unfit to practice as doctors, for whom this society has the highest regards. After all, doctors are more than technical beings; they have their own set of guiding principles and moral values which they should strictly adhere to.
Worse are those who possessed fake MBBS and MD certificates, the ones practicing without licensing certificates or those who passed the licensing examination with the help of fake examinees. Such doctors pose a great threat to the public health and this amounts to a felony without a doubt.
Parents are often seen encouraging or sometimes even forcing their kids to become doctors without taking their capabilities and interests into account. Because of the supposedly rich and easy life coupled with glamour and social prestige, the profession is hard to resist. So people do get tempted and resort to foul means in order to fulfil their goal of becoming a doctor. So the Indian state of Bihar, just across the border, emerges as their favourite destination to buy all the phony documents.
One can present many such reasons behind this crime. But there should be no excuse; a crime is a crime and it should be condemned no matter what. If such misdeeds go unpunished, it will only encourage more people to follow suit and the medical field will get further polluted. As such, this is the time to set a precedent by punishing the culprits and pushing for similar reforms in other sectors.
Stained white coat
It is not the first time when questions have been raised about the country’s medical profession. Only last December, two fake examinees were found appearing in the Nepal Medical Council’s (NMC) licensing examination on behalf of others who had repeatedly failed to get through. It was in fact this incident that pushed the officials to dig deeper. A big question had arisen—why are doctors failing to clear the medical licensing examination despite repeated attempts? Officials suspected something was wrong and that was how the ‘operation quack’ started. Moreover, the exam is widely believed to be too simple by every standard. Many have even advocated a review of it as it only tests theoretical knowledge and not the skills required of a doctor.
This operation should go beyond punishing the guilty. It should help establish a mechanism by which frauds will not be able to enter this noble profession again. Why did the concerned university not bother to verify the certificates before admitting them to such a sensitive course?
Was it negligence or a deliberate act? Why was the NMC, formed with the sole objective to regulate medical education and profession, in deep slumber for so many years? And, how did the counterfeiters manage to pass the MBBS and MD exams or the licensing exams?
The credibility of the country’s medical sector is at stake. People have begun to doubt their doctors. This also does not bode well for all the honest doctors out there who have worked really hard to get where they are. Therefore, the investigation should be completed as soon as possible and the public should be assured once and for all that the medical sector is clean. From now on, each and every certificate needs to be verified before allowing people to pursue further education, especially in sensitive fields like medicine. Last but not least, the humble but spirited effort of Dr Govinda KC to bring about much-needed reform in medical education is gaining recognition, and we as citizens need to contribute from our side by supporting him.
Read More

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong